एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु

काठमाडौं: भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ ।

गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको भारती स्वास्थ्य अधिकारीहरूले बताएको सीएनएनले जनाएको छ ।

अहमदावादबाट लन्डन जाँदै गरेको उक्त विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ ।

एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएका छन् ।

बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने समेत अनुमान गरिएको छ।