वर्षासंगै मेलम्ची नदीमा जलसतह बढ्नसक्ने, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं: केही दिन यता देखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

वर्षायाम सुरु भएसंगै देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

सिन्धुपाल्चोक, नुवाकोट, बझाङलगायत जिल्लाका विभिन्न स्थानमा वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची नदीमा जलसतह केही बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।

नुवाकोटको त्रिशूली बेत्रावती वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेको तथा त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय क्षेत्र र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको विभागले बताएको छ ।

बझाङको बउलिगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।