रसुवामा आएको बाढीमा ६ चिनियाँसहित १८ अझैं बेपत्ता, ९ को उद्धार

काठमाडौं:  चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेको छ।

गए राति ३ बजे जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

यस्तै, १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका मध्यको प्र.स.नि. लालबहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर, प्र. ज. लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बाढीले बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरी बगाइ पुल पूर्ण रूपमा क्षति भएको छ। जसका कारण पैदलयात्री र सवारीसाधनको आगतजावत बन्द भएको छ।

यस्तै ४:४० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. २ स्थित रहेको ईभी चार्जिङ स्टेसनमा पनि क्षति भएको छ। बाढीले ७/८ वटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ।

बाढीले ७:५० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. ५ पासाङल्हामु सडक खण्डस्थित उक्त बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरोध भएको पनि जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।