हेल्थ फाउण्डेसन नेपालको १३ औँ सम्मेलन न्युयोर्कमा

काठमाडौँः हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औं सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ। फउण्डेसनका डाइरेक्टर डा. आदित्य जोशीका अनुसार आगामी सेप्टेम्बर १३ देखि १५ सम्म तीन दिन हुने सो सम्मेलनमा नेपाल र अमेरिकाबाट चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले भाग लिने छन्।

वार्षिक साधरणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा. जोशीले जानकारी दिए। सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका मानिसहरू न्युयोर्कमा जम्मा हुने छन्।

सम्मेलनको पहिलो दिन मानसिक रोग तथा नसर्ने रोग सम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुने र ती कार्यपत्रमाथि छलफल हुने डा. जोशीले बताए। त्यसैगरी, पेपर प्रिजेन्टेसन र पोष्टर प्रिजेन्टेसन पनि हुने छन्। साथै, सम्मेलनमा नेपाली खानाका साथै साँस्कृतिक कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन्।

फाउण्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले यो सम्मेलन अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासलाई नेपालको स्वास्थ्य प्रवद्र्धनमा उत्प्रेरित गर्ने साझा थलोको हुने बताए।

फाउण्डेसनले सन् २०१३ बाट नेपालमा मानसिक स्वास्थ्य, डिजिटल र स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण तथा उपचार, कुपोषण न्यूनीकरण र नेपाली चिकित्सकहरूलाई मेरिटसीप प्रदान गर्दै आएको छ।