शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने 

काठमाडौं: पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागकाले जनाएको छ ।

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म नेपालभरि भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहन पनि विभागको अनुरोध छ ।

मनसुनी प्रणाली भारततर्फ रहेकाले नेपालमा शनिबार दिउँसोसम्म केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसोदेखि पश्चिम र सुदूरपश्चिममा अत्यधिक वर्षा हुने । आइतबार–सोमबार वाग्मती, कोसी र गण्डकी जलाधार क्षेत्रमा भीषण वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ ।

महाशाखाका अनुसार, आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार राति सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।