सञ्चारकर्मीहरुसंग स्तन, पाठेघरको मुख र प्रोस्टेट क्यान्सर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं: क्यान्सर सम्बन्धी जनचेतना जगाउने अभिप्रायले ′स्तन, पाठेघरको मुख र प्रोस्टेट क्यान्सर सम्बन्धी  सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त आयोजनामा सञ्चारकर्मीहरूसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथितीका रुप रहेकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले क्यान्सर रोग रोकथाममा पत्रकारहरुको भूमीका महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् । उनले पछिल्लो समय क्यान्सर रोगका बिरामी बढिरहेकाले समयमै स्वास्थ्य परीक्षण गर्न आवश्यक भएको समेत औल्याइन् ।

यसैगरी,नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधानले क्यान्सर रोग उपचार सहजताका लागी  स्वस्थ्य बिमा शुल्क बढाउन आवश्यक भएको बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरूलाई क्यान्सर सम्बन्धी जानकारी प्रधान गर्नका लागि व्रेस्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सर, क्लिनिकल अन्कोलोजिस्ट डा. रजनी झाले पाठेघरको मुखको क्यान्सर र युरो अन्कोलोजिस्ट डा. इशान मल्लले प्रोस्टेट क्यान्सरसम्बन्धी प्रस्तुती दिएका थिए ।

प्रस्तुतिका क्रममा डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सर हुँदा  सामान्यतः नदुख्ने हुँदा धेरै महिला ढिलो मात्र अस्पताल पुग्ने बताए। उनले गिर्खा देखिनु क्यान्सरको सम्भावित लक्षण भए पनि सबै गिर्खा क्यान्सर नै नहुने भन्दै परीक्षणमा जोड दिन आवश्यक भएको बताए ।

क्यान्सर रोग विशेषज्ञ डा. रजनी झाले नेपालमा क्यान्सर रोगले जटिल अवस्था लिएको बताइन् । उनले नेपालमा प्रत्येक वर्ष २,५०० देखि ३,००० महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने  बताउदै रोगबाट जोगिन नियमित परीक्षण र खोप लगाउनु आवश्यक रहेको बताइन् ।

त्यसैगरी, डा. इशान मल्लले प्रोस्टेट क्यान्सरसम्बन्धी जानकारी दिँदै ५० वर्ष नाघेका पुरुषहरूले नियमित परीक्षण गरेमा समयमै रोगको पहिचान र नियन्त्रण गर्न सकिने बताए।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष तथा सञ्चारकर्मी-गायक निर्णय श्रेष्ठ, गायीका तथा क्यान्सर विजेता देविका बन्दनालगायतको उपस्थिति र सम्बोधन रहेको थियो भने ५० भन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा काठमाडौं क्यान्सर केन्टर, करुणा सिटी क्लिनिक, नेपाल सिनियर केयर लगायतको सहयोग रहेको थियो।