सूचीकरण नभएका सामाजिक सञ्जालहरु आज देखि बन्द

काठमाडौं: नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई आज (भदौ २० गते) देखि नेपालमा बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बिहीबार बसेको मन्त्रालयस्तरीय बैठकले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (पूर्व ट्विटर), लिंक्डइन, हाम्रो पात्रोसहित २६ वटा सामाजिक सञ्जाल तत्कालै बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रालयले गत सातै साता सार्वजनिक सूचना जारी गर्दै नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीलाई सात दिनभित्र सूचीकरण (दर्ता) गर्न आह्वान गरेको थियो। तोकिएको समयसीमा भदौ १९ गते राति सकिएपछि दर्ता नगरिएका सञ्जाल आजदेखि बन्द गरिएको हो।

सरकारका अनुसार सूचीकरण नगरेका सामाजिक सञ्जालले नेपालमा कानूनी प्रतिनिधि नराख्ने, प्रयोगकर्ताको गुनासो व्यवस्थापन नगर्ने र स्थानीय कानुनअनुसार जवाफदेही बन्न अस्वीकार गर्ने जस्ता समस्या कायम भएकाले यस्तो कदम चालिएको हो। मन्त्रालयले भने, “कुनै कम्पनीले आवश्यक दर्ता प्रक्रिया पूरा गरेमा तत्कालै सेवा सुचारु गरिनेछ।”

यस निर्णयसँगै नेपालमा फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, स्न्यापच्याट, डिस्कोर्ड, वीच्याट, पिन्टरेस्ट, टम्बलर, इमो, क्लबहाउस लगायतका लोकप्रिय प्लेटफर्म प्रयोग गर्न पाइने छैन ।

यता, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायीहरूले यो निर्णयले अभिव्यक्ति स्वतन्त्रता, सञ्चार स्वाधीनता र व्यवसायिक गतिविधिमा प्रतिकूल असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार तथा मानव अधिकार संगठनहरूले पनि यसलाई आलोचना गरेका छन्।