प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता खोज्दै विपक्षी, सभामुखले भने– ‘भोलि संवाद गर्छु’

काठमाडौं: विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको उपस्थितिको सुनिश्चितता गर्न माग गरेका छन्।

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखमार्फत रुलिङ माग गरेका हुन्।

सभामुखले प्रधानमन्त्रीसँग संवाद गर्ने आश्वासन दिँदै नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन आग्रह गरेका छन्। उनले भोलि पनि नीति तथा कार्यक्रममाथि छलफल हुने भएकाले प्रधानमन्त्रीसँग आवश्यक संवाद गर्ने बताएका छन्।

एमाले सांसद पद्मा अर्याल ले विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता खोजेको बताइन् । अवरोधपछि भएको छलफलका आधारमा मात्रै नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन प्रस्ताव पेस गर्न दिइएको उनले उल्लेख गरिन्।