काठमाडौं: नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज (मंगलबार) दिउँसै लालटिन बाल्ने भएको छ।
कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेटपछि बसेको बार बैठकले अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप’ भएको निष्कर्ष निकालेको हो।
बारका महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीहरूले न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजीसहित आज दिउँसो १:१५ बजे नेपाल बारको प्राङ्गणमा लालटिन बाली ‘न्याय, विवेक र स्वच्छ प्रक्रिया’ को खोजी हुनेछ ।
नेपाल बारले सर्वोच्च प्रशासनको पछिल्लो कार्यशैलीप्रति ५ बुँदे असहमति सार्वजनिक गरेको छ। बारका अनुसार संवैधानिक महत्त्वका विभिन्न रिट निवेदनहरू प्रशासनले दरपीठ (दर्ता अस्वीकार) गरेको थियो। सो दरपीठउपर परेको निवेदनमा कामु प्रधानन्यायाधीशले दर्ता गरी निष्कर्षका लागि पेस गर्न स्पष्ट आदेश दिए पनि प्रशासनले सो आदेश पालना गर्न इन्कार गरेको बारको दाबी छ।
‘न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक छ,’ बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो प्रचलित कानुनको उल्लंघन मात्र होइन, विस्मृतिमा नजानी ऐतिहासिक भूलसमेत हो।’
विना कारण निवेदन दर्ता नगरी राख्नुले न्याय मार्गमा अवरोध पुर्याएको बारको ठहर छ।
बारले आफ्ना सल्लाहकार एवं एकाइबाट प्राप्त सुझाव अनुसार थप कार्यक्रम सञ्चालन गर्दै जाने पनि जनाएको छ ।
साथै, आज (मंगलबार) हुने प्रदर्शनमा देशभरका कानुन व्यवसायीहरूलाई न्यायको रक्षाका लागि सहभागी हुन बारले अनुरोध गरेको छ ।


















