कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डङ्गोल

काठमाडौं: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा आयोजित प्रतिष्ठित फिल्म फेस्टिभल यस वर्ष नेपालका लागि ऐतिहासिक बनेको बताएकीछन्।

शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले कान्स फेस्टिभलमा नेपाली चलचित्रले पहिलो पटक महत्वपूर्ण सफलता हासिल गर्नु गौरवको क्षण भएको बताएकी हुन्।

फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन्।

डङ्गोलले निर्देशक अविनाश विक्रम शाहद्वारा निर्देशित इलिफेन्ट इन द फग’ले ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्नु नेपाली चलचित्र उद्योग र सिर्जनात्मक कला क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताइन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त ज्ञान, अनुभव र नेटवर्कलाई उपयोग गर्दै रचनात्मक उद्योगको विकासमा काठमाडौं महानगरपालिका सक्रिय रूपमा लाग्नेछ बताइन्।

कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स पुगेकी डङ्गोलले उनलाई काठमाडौंमा आयोजना हुने चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएको जनाइन्।