काठमाडौं: बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको घटनाको विषयलाई लिएर हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः अनिश्चितकालका लागि बन्द गरेको छ।
घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग राख्दै क्लबले आन्दोलन सुरु गरेको हो।
८ जेठमा हिमाली युवा क्लब, स्थानीय राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको आरोप क्लबले लगाएको छ।
क्लबका अनुसार घटनास्थलको स्थलगत अध्ययन गरी सर्जिमिन मुचल्का तयार पार्न, घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न तथा स्थानीय र पर्यटकबाट लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग अझै पूरा भएको छैन।
यस्तै, कुटपिटबाट घाइते भएका व्यक्तिहरूको उपचार खर्च व्यवस्थापन, विस्थापित परिवारको पुनर्स्थापना तथा सुरक्षाको सुनिश्चितता गर्न पनि क्लबले सरकारसँग माग गरेको छ।
च्याँचौरमा निर्माणाधीन प्रहरी चौकी भवनका नष्ट भएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराएर निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने मागसमेत आन्दोलनरत पक्षले राखेको छ।


















