काठमाडौं: अस्वस्थ जीवनशैली र खानपानका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ।
हाल वयस्क नेपालीमध्ये २४.५ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको तथ्यांकले देखाएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार अत्यधिक नुन तथा अस्वस्थ चिल्लोयुक्त खाना, शारीरिक गतिविधिको कमी, धूम्रपान र मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा तीव्र सहरीकरणले उच्च रक्तचापको जोखिम बढाइरहेको छ।
नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ। तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मात्रै २७.३६ प्रतिशत मृत्यु हुने गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् र यो संख्या निरन्तर बढ्दो क्रममा छ। प्रभावितमध्ये धेरैलाई आफूमा उच्च रक्तचाप भएको जानकारी नै नहुने समस्या पनि देखिएको छ।
उपचार र जीवनशैली सुधारमार्फत नियन्त्रण सम्भव भए पनि चारजनामध्ये एक जनाको मात्रै रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नियमित रूपमा दैनिक ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, पर्याप्त निद्रा लिन र तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।



















