प्रहरीसँग मुठभेडपछि जडीबुटीमा गोली चल्यो, फरार अभियुक्त नियन्त्रणमा

काठमाडौं: काठमाडौंको जडीबुटी क्षेत्रमा प्रहरीले गोली प्रहार गरी लुटपाटमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रोयल पार्टी प्यालेस नजिकै भएको मुठभेडपछि काठमाडौंको भद्रकालीका गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कार्कीको बायाँ खुट्टामा गोली लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले प्रहरीमाथि प्रतिरोध भएपछि जवाफी कारबाहीस्वरूप गोली चलाइएको बताए।

घटनाका क्रममा एक प्रहरी कर्मचारी पनि घाइते भएका छन्। घाइते कार्कीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने घाइते प्रहरीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो सुकेधारामा कार्की र उनका एक सहयोगीले एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेका थिए। घटनापछि खोजी गर्ने क्रममा जडीबुटीमा उनीहरूसँग प्रहरीको जम्काभेट भएको थियो। लुटपाटमा संलग्न अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार कार्की यसअघि डाँकाचोरी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्। उनी गत वर्षको आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। प्रहरीले उनलाई केही समयअघि कपन क्षेत्रमा प्रहरीमाथि समेत खुर्सानीको धुलो छर्केर भागेको आरोप लगाएको छ।