मानव अधिकार आयोग मात्रै होइन, सबै प्रतिवेदन अध्ययन गरिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले विभिन्न कालखण्डमा भएका आन्दोलन, र्‍याली तथा अन्य घटनासम्बन्धी सरकारले प्राप्त गरेका सबै प्रतिवेदनहरू एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले सरकारको धारणा स्पष्ट पारेका थिए।

जवाफमा उनले भने, “आजसम्म नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूको एकीकृत रूपमा अध्ययन गरिन्छ र त्यसका आधारमा आवश्यक कामकारबाही अघि बढाइन्छ।”

उनले मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभई विभिन्न समयमा भएका आन्दोलन, र्‍याली तथा अन्य घटनासम्बन्धी तयार गरिएका अनेकौँ प्रतिवेदनहरू पनि सरकारसमक्ष रहेको स्मरण गराउँदै ती सबैलाई समग्र रूपमा अध्ययन गरिने बताए।