किशोरकिशोरीमा चुरोट, भेप र हुक्काको लत बढ्दो

काठमाडौं: नेपालमा १२ वर्षमुनिका बालबालिकामा समेत चुरोट सेवनको लत देखिएको एक अध्ययनले देखाएको छ।

‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको अध्ययनअनुसार १० वर्षमुनिका बालबालिकासमेत धूमपानमा संलग्न रहेको पाइएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन सातै प्रदेशका ५० विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत तीन हजार विद्यार्थीमा गरिएको थियो। अध्ययनमा ५७ प्रतिशत धूमपान गर्ने व्यक्तिले बिहान उठ्नासाथ चुरोट खाने र ७४ प्रतिशतले छाड्ने प्रयास गरे पनि सफल हुन नसकेको उल्लेख छ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सुर्तीजन्य पदार्थ सामाजिक विष रहेकाले सबैको सहयोगबाट यसलाई रोक्न सकिने धारणा व्यक्त गरे।

यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले किशोरकिशोरीलाई आकर्षित गर्न भेप, हुक्का तथा विभिन्न स्वादयुक्त सुर्तीजन्य पदार्थ बजारमा ल्याइएकाले यसको प्रयोग बढ्दै गएको बताए।

उनीहरूले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतना अभियान आवश्यक रहेकोमा जोड दिएका छन्।

नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ।

धूमपान र सुर्तीजन्य पदार्थले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेहजस्ता नसर्ने रोगहरूको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्।

विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि चेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मे ३१ तारिखमा यो दिवस मनाइन्छ।

यो वर्ष ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम  चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ आज (आइतबार) यो दिवस मनाइएको छ।