बालेनको अभिव्यक्ति हटाउन विपक्षी दलहरूको साझा अडान

काठमाडौं: भूमिसम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत भएका छन्।

यस विषयमा साझा रणनीति बनाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका नेताहरू सिंहदरबारमा छलफलमा जुटेका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले मात्र नेपालको सिमा मिचेको नभएर नेपालले पनि मिचेको रैछ आफूले एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको’ बताएका थिए। उक्त अभिव्यक्ति संसदीय मर्यादाविपरीत भएको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदीय अभिलेखबाट हटाउनुपर्ने माग अघि सारेका हुन्।

प्रतिनिधिसभाको बैठकमा यो विषयलाई औपचारिक रूपमा उठाउने तयारी विपक्षी दलहरूको छ। सोमबार बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कांग्रेसका सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउनुपर्ने विषयमा विपक्षी दलहरूबीच सहमति बनिसकेको छ र त्यसबारे थप रणनीति तय गर्न बैठक बसिरहेको छ।