सगरमाथामा पाँच दिनदेखि बेपत्ता दावा शेर्पाको सकुशल उद्धार

काठमाडौ: सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता रहेका दावा शेर्पाको सकुशल उद्धार गरिएको छ।

जेठ १६ गतेदेखि सम्पर्कविहीन भएका उनलाई बिहीबार सगरमाथा आधार शिविर नजिकको ‘क्र्याम्पोन पोइन्ट’ क्षेत्रमा फेला पारिएको हो।

पर्यटन विभागका अनुसार सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले शेर्पालाई उद्धार गरी गोरकशेपसम्म पुर्‍याएका थिए। त्यसपछि अल्टिच्युड एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याई ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

विभागले उद्धार तथा खोजी अभियानमा सहयोग गर्ने सबै निकाय र व्यक्तिलाई धन्यवाद दिँदै दावा शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

ओखलढुङ्गाका शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट सहयोगी कामदारका रूपमा आरोहणमा संलग्न थिए।