तराईका विभिन्न क्षेत्रमा तीन दिन तातो लहरको जोखिम, ३८ डिग्रीभन्दा बढी तापक्रम पुग्ने अनुमान

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न तराई क्षेत्रमा तातो लहर (हिट वेभ) तथा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

विशेषगरी मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा अध्यावधिक गर्न पनि आग्रह गरिएको छ।