काठमाडौं: डेङ्गी, जिका र पहेँलो ज्वरो जस्ता रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न अनुसन्धान परियोजना गुगल अन्तर्गतको ‘डिबग’ ले नयाँ जैविक विधि अघि सारेको छ। यसअन्तर्गत करिब १ करोड ६० लाख बाँझा भाले लामखुट्टे वातावरणमा छोड्ने तयारी गरिएको छ।
परियोजनामा वोल्बाचिया नामक ब्याक्टेरिया संक्रमित भाले लामखुट्टे प्रयोग गरिनेछ। यी भाले लामखुट्टेले पोथीसँग समागम गरेपछि अण्डा विकसित नहुने भएकाले लामखुट्टेको संख्या क्रमशः घट्दै जाने वैज्ञानिकहरूको अपेक्षा छ।
यो कार्यक्रम प्रारम्भिक चरणमा अमेरिकाको फ्लोरिडा र क्यालिफोर्निया राज्यमा लागू गर्ने तयारी गरिएको छ। सफल परीक्षणपछि अन्य प्रभावित क्षेत्रमा पनि विस्तार गर्न सकिने बताइएको छ।
एडिस एजिप्टाई प्रजातिको लामखुट्टे डेङ्गी, जिका, चिकुनगुनिया र पहेँलो ज्वरोजस्ता रोगको प्रमुख वाहक हो। एक पोथी लामखुट्टेले जीवनभर सयौँ अण्डा पार्ने भएकाले यसको नियन्त्रणलाई सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ।
विज्ञहरूका अनुसार भाले लामखुट्टेले मानिसलाई टोक्दैनन्, त्यसैले ठूलो संख्यामा छोडिए पनि मानव स्वास्थ्यमा थप जोखिम नहुने दाबी गरिएको छ।
यद्यपि, प्रकृतिमा यस्तो ठूलो स्तरको हस्तक्षेपको दीर्घकालीन प्रभावबारे वैज्ञानिक र नैतिक बहस पनि हुन थालेको छ।




















