काठमाडौं: भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
गोवास्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले पराजित गरेको हो।
प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले गोल गरिन्। बंगलादेशकी रितु चक्माले गरेको गोल सान्त्वना रह्यो।
२०१९ को संस्करणमा नेपाललाई ३–१ ले हराउँदै भारतले पाँचौंपल्ट उपाधि जितेको थियो। त्यसयताका दुई संस्करणका भारतलाई सेमिफाइनलमा नेपालले नै रोकेको थियो। यसपल्ट बंगलादेशले नेपाललाई सेमिफाइनलमै २–१ ले रोक्यो।
खेलको ४३औं मिनेटमा प्यारीले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। तर, पहिलो हाफको इन्जुरी समयमा रितुले गोल फर्काउँदै बंगलादेशलाई बराबरीमा ल्याइन्।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सानफिदाले गोल गर्दै भारतलाई पुनः २–१ को अग्रता दिलाइन्।
त्यसपछि खेलको ८१औं मिनेटमा ल्यान्डाले अर्को गोद्य गर्दै भारतको जित सुनिश्चित गर्दिइन्। यस जितसँगै छटौं पटकको च्याम्पियन भारतले पुनः क्षेत्रीय महिला फुटबलमा आफ्नो दबदबा स्थापित गरेको छ।
यता, लगातार तेस्रो उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश भने उपविजेतामै सीमित रह्यो।




















