इटहरी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशन विवाद र तनावका बीच जारी रहेको छ।
लौकहीस्थित सिटी हलमा शनिबार साँझ मतदानका क्रममा केही मतदाता र पार्टीको युवा दस्ताबीच सामान्य हातपात भएपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
पार्टी नेतृत्वको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको र सभापति तथा उपसभापति पदका लागि मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।
घटनापछि केही प्रतिनिधि तथा मतदाताले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरेका छन्। विशेषगरी बर्जु र गढी क्षेत्रका केही मतदाता मतदान प्रक्रियाबाट बाहिरिएका बताइएको छ।
जिल्ला सभापति पदका लागि सागर दाहाल, मोहन निरौला, चक्र विष्ट र पुण्यप्रसाद सापकोटा बीच प्रतिस्पर्धा भइरहेको छ। उपसभापति पदमा देविका भण्डारी र राजेशमान श्रेष्ठ चुनावी मैदानमा छन्।
अन्य अधिकांश पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन संयोजनका लागि खटिएका अख्तर हुसेनले मतदाता नामावलीमा नाम समावेश नभएको विषयलाई लिएर केही असन्तुष्टि देखिएपछि विवाद उत्पन्न भएको बताए। उनका अनुसार मतदान प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको छ र मतदाताहरूले लाइनमा बसेर मतदान गरिरहेका छन्।
कुल ४३६ मतदाता रहेको सुनसरी जिल्ला अधिवेशनको उद्घाटन प्रकाशचन्द्र परियार को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा लालविक्रम थापा, अशोक चौधरी, सृष्टि भट्टराई लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो।




















