३५ वर्षपछि ९७७ स्वास्थ्य दरबन्दी थपियो, तर देशभर अझै एक लाख जनशक्तिको खाँचो

३ लाख ८५ हजार स्वास्थ्यकर्मी दर्ता भए पनि सरकारी स्वास्थ्य प्रणालीमा दरबन्दी ३४ हजारमै सीमित

काठमाडौं: सरकारले ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थप्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ३३ हजार ४८० स्वास्थ्य दरबन्दी रहेकोमा थप ९७७ दरबन्दी थपेर ३४ हजार ४५७ पुगाउने भएको हो।

नयाँ थपिएका दरबन्दी मुख्यतः संघीय अस्पतालहरूमा खटाइनेछन्। स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार थपिएका पदमध्ये करिब पाँच सय नर्स तथा विभिन्न विधाका विशेषज्ञ चिकित्सक समावेश छन्। ती पदमा लोकसेवा आयोगमार्फत चरणबद्ध रूपमा पदपूर्ति गरिने तयारी छ।

तर देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्तिको तुलनामा यो संख्या निकै न्यून रहेको देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ३३ हजार ४८० स्वास्थ्य दरबन्दी कायम छन्। नयाँ ९७७ दरबन्दी थपिएपछि यो संख्या ३४ हजार ४५७ पुग्नेछ। जबकि प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि कम्तीमा एक लाख स्वास्थ्य जनशक्ति आवश्यक रहेको मन्त्रालयकै आँकलन छ।

हाल देशभरका २६ संघीय अस्पतालमा करिब १ हजार २०० विशेषज्ञ चिकित्सक कार्यरत छन्। तर अस्पतालको क्षमता विस्तार भए पनि जनशक्ति सोही अनुपातमा नबढ्दा सेवा प्रवाहमा समस्या देखिएको विज्ञ औलाउँछ्न्।

यता, आर्थिक सर्वेक्षणअनुसार नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिललगायत निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ८५ हजार ३७० पुगेको छ। एक वर्षअघि यो संख्या ३ लाख ६६ हजार ५०५ थियो। तर तीमध्ये कति स्वास्थ्यकर्मी विदेशिएका छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अनिलविक्रम कार्कीले मुलुकमै पर्याप्त स्वास्थ्य जनशक्ति उत्पादन भए पनि सरकारले प्रभावकारी रूपमा उपयोग गर्न बताउँछ्न्। उनका अनुसार अस्पतालको शय्या र सेवा विस्तार भए पनि चिकित्सक तथा नर्सको संख्या नबढ्दा कार्यबोझ बढिरहेको छ।

जनस्वास्थ्य विज्ञ बाबुराम मरासिनीका अनुसार अस्पतालको शय्या र सेवा विस्तार अनुसार चिकित्सक तथा नर्सको संख्या नबढ्दा मात्र नभएर भएका स्वास्थ जनशक्ति स्वदेशमा टिकाउन नसक्दा पनि थप समस्या थपिएको छ।

पछिल्लो पाँच वर्षमा स्वास्थ्य संस्थाको संख्या ७ हजार ५६६ बाट बढेर ८ हजार ९७६ पुगेको छ भने अस्पतालको संख्या १२५ बाट ४२० पुगेको छ। तर जनशक्ति व्यवस्थापन भने सोही अनुपातमा अहिले पनि पुग्न नसकेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरू स्वास्थ्यकर्मी उत्पादनभन्दा ठूलो चुनौती उनीहरूको उचित परिचालन, व्यवस्थापन र दुर्गम क्षेत्रमा सेवा सुनिश्चित गर्नु प्रमुख समस्याको रुपमा रहेको बताउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक एक हजार जनसंख्यामा कम्तीमा एक चिकित्सक आवश्यक पर्छ। तर नेपालका धेरै दुर्गम क्षेत्रमा अझै पनि एक चिकित्सकले ठूलो जनसंख्याको स्वास्थ्य सेवा धान्नुपर्ने अवस्था छ। विज्ञहरू स्वास्थ्य जनशक्तिको उत्पादनसँगै उचित व्यवस्थापन र परिचालनमा जोड दिनुपर्ने बताउँछन्।