प्रतिनिधिसभा बैठक विपक्षीको विरोधपछि स्थगित

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आज पनि आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।

सभामुख डीपी अर्याल ले बैठक सुरु भएको घोषणा गर्दै कार्यसूची प्रस्तुत गर्न लाग्दा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

विपक्षी दलका सांसदहरूले बालेन शाह ले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा विरोध प्रदर्शन गरेका थिए।

सांसदहरूको अवरोध जारी रहेपछि सभामुख अर्यालले बैठक सञ्चालन गर्न नसकिने अवस्था रहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका छन्।

विपक्षीको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको कार्यसूची प्रभावित भएको छ भने संसद्को नियमित कामकारबाही समेत प्रभावित बनेको छ।