काठमाडौं: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी संसदीय गतिरोध अन्त्य गर्न प्रतिनिधिसभाबाट सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् अत्यधिक औपचारिकतामा अल्झिँदा समस्या झन् जटिल बन्दै गएको बताए। प्रधानमन्त्रीलाई संसद्मा बोलाएर विवाद समाधान गर्ने प्रयास भए पनि निकास ननिस्किएको उनको भनाइ थियो।
साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको सीमामा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै त्यस सम्बन्धमा सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखसमक्ष निवेदन पेस गर्ने जानकारी दिए।
उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई तथ्यहीन र राष्ट्रहितविपरीत भएको ठहर गर्दै भविष्यमा प्रधानमन्त्री, मन्त्री वा सांसद कसैले पनि यस्ता अभिव्यक्ति नदिने प्रतिबद्धता संसद्बाट व्यक्त गर्नुपर्ने बताए।
साम्पाङले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुन नहुने उल्लेख गर्दै सबै राजनीतिक दल राष्ट्रिय हितका पक्षमा एकजुट हुनुपर्ने धारणा राखे।
उनले लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनतामा निराशा बढेको भन्दै विवाद समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। संसद्ले साझा सङ्कल्पमार्फत निकास खोजे जनतामा सकारात्मक सन्देश जाने उनको भनाइ थियो।




















