करका दर हेरफेर विवादमा अर्थमन्त्रीले दिए कर्मचारीलाई दोष

काठमाडौं: करका दर हेरफेर सम्बन्धी विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कर्मचारीको त्रुटिका कारण समस्या उत्पन्न भएको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा केही त्रुटि भएको स्वीकार गरेका हुन्।

उनले आर्थिक विधेयकको एक ठाउँमा करको दर र अर्को ठाउँमा शुल्क सम्बन्धी व्यवस्था हेरफेर भएको बताए। उनले त्रुटिको जिम्मेवारी आफूले लिने भए पनि गल्ती आफूबाट नभई कर्मचारीबाट भएको दाबी गरे। उनका अनुसार आर्थिक विधेयक तयार गर्ने क्रममा कर्मचारीहरूले राति अबेरसम्म काम गर्दा केही विषय छुट्न पुगेका थिए।

“म मन्त्रालयको अभिभावक हुँ, कर्मचारीले गरेको गल्तीको जिम्मेवारी मैले लिनुपर्छ। तर अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन,” उनले समितिमा भने।
अर्थमन्त्री वाग्लेका अनुसार त्रुटिबारे जानकारी पाएपछि जेठ १७ गते नै संघीय संसद् सचिवालयलाई पत्र पठाएर आवश्यक सुधारका लागि अनुरोध गरिएको थियो।

उनले जेठ १५ गते संघीय संसद्का दुवै सदनमा आर्थिक विधेयक प्रस्तुत गरेका थिए। पछि विधेयकमा केही अस्पष्टता तथा भाषिक त्रुटि देखिएपछि ती सच्याउन संसद् सचिवालयमा निवेदन दिइएको अर्थमन्त्रीले जानकारी दिए।

करका दर हेरफेरको विषय सार्वजनिक भएपछि बजेट निर्माण प्रक्रियाको पारदर्शिता र जिम्मेवारीबारे प्रश्न उठिरहेका छन्। विपक्षी दलहरूले यस विषयमा थप छानबिनको माग गरिरहेका छन्।