काठमाडौं: काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवकलाई पक्राउ गरेको छ।
बुधबार दिउँसो नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले ८ लाख ६१ हजार ५ सय रुपैयाँ नगदसहित २६ वर्षीय सविन तिमल्सिना लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका तिमल्सिना काठमाडौं महानगरपालिका–२२ स्थित न्यूरोड क्षेत्रमा शङ्कास्पद रूपमा हिँडिरहेका थिए। त्यसपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई रोकी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको साथबाट स्रोत खुलाउन नसकिएको ८ लाख ६१ हजार ५ सय रुपैयाँ नगद बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बरामद रकमको स्रोत तथा प्रयोजनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि तिमल्सिनालाई सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।



















