काठमाडौं: कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसालिएको घटनामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले संयुक्त रूपमा १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको हो।
शुक्रबार भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा धनादेवी धामीले पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चाको विषय बनेको थियो। भिडियोमा केही कर्मचारीले टेम्पोलाई धकेल्दै भिरतर्फ लैजाँदा अन्ततः खसेको दृश्य देखिन्छ।
घटनापछि चौतर्फी आलोचना बढेपछि डिभिजन वन कार्यालय धनगढीले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ। कार्यालयले उक्त टेम्पो कवाड अवस्थामा रहेको, वन क्षेत्र अतिक्रमण गरी छाप्रोका रूपमा प्रयोग गरिएको र हटाउने क्रममा भिरालो भूगोलका कारण सन्तुलन बिग्रिएर भिरबाट खसेको दाबी गरेको छ।
तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र स्थानीयको आरोपले घटनामाथि प्रश्न उठेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। हाल घटनामा संलग्न कर्मचारीहरूको भूमिका, टेम्पो खसाल्नुको कारण र त्यसबाट भएको क्षतिको विषयमा विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।
घटनाले वन अतिक्रमण हटाउने अभियानको कार्यशैली र मानवीय संवेदनशीलतामाथि समेत बहस सिर्जना गरेको छ।




















