काठमाडौं: स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा दाबीबापत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
यसअघि जेठ १३ गते १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी स्वास्थ्य बिमा दाबी भुक्तानी गरिएको थियो भने विपन्न नागरिकको औषधि उपचार खर्चबापत जेठ २१ र २७ गते गरी करिब ५९ करोड ५० लाख रुपैयाँ निकासा गरिएको थियो।
सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको दाबी रकम भुक्तानीलाई तीव्रता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।




















