धनगढीबाट बैतडी आउँदै गरेको बस दुर्घटनाग्रस्त, १० घाइते

काठमाडौं: बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब ५:४० बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। चन्द पाटन नगरपालिका–४ स्थित भुमेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक थिए।

दुर्घटनामा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, ८ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, ३ वर्षीया दृष्टि कार्की, दशरथचन्द नगरपालिका–२ की २० वर्षीया ललिता लावड र ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट तथा बसका सहचालक पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट घाइते भएका छन्।

घाइतेमध्ये सहचालक भट्टलाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १२ जना सवार रहेका थिए। चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरा सकुशल रहेका छन्। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।