बर्डफ्लु नियन्त्रण चुनौतीपूर्ण, काठमाडौं उपत्यकामा संक्रमणको दबाब

काठमाडौं: काठमाडौं उपत्यका अहिले बर्डफ्लु संक्रमणको प्रमुख केन्द्रका रूपमा देखिएको छ।

पशु सेवा विभागका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा संक्रमणको प्रभाव अन्य क्षेत्रको तुलनामा बढी रहेको छ।

पशु सेवा विभागका अनुसार काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर, ललितपुरका गोदावरी, महालक्ष्मी तथा ललितपुर महानगरपालिका, साथै भक्तपुरका चाँगुनारायण र सूर्यविनायक क्षेत्रमा बर्डफ्लु संक्रमण बढी फेला परेको छ।

केही साताअघि पूर्वी नेपालका झापा, मोरङ र सुनसरीबाट देखिएको संक्रमण क्रमशः महोत्तरी, बारा र चितवन हुँदै काठमाडौं उपत्यकासम्म फैलिएको हो। पछिल्लो समय नवलपरासीमा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमण नियन्त्रणका लागि सरकारले संक्रमित फार्ममा रहेका पन्छी नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ। विभागका अनुसार हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको छ। त्यसैगरी सात लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरिएको छ।

बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमण देखिएका स्थानमा रहेका पन्छी नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरू आउँलाउदै आएका छन्।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लु मानिसमा पनि सर्न सक्ने र गम्भीर अवस्था निम्त्याउन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

उनका अनुसार विशेषगरी कुखुरा पाल्ने किसान, पशुपन्छी ढुवानी गर्ने र बिक्री–वितरणमा संलग्न व्यक्तिहरू उच्च जोखिममा छन्।

यसैगरी, ललितपुर स्थित सदर चिडियाखानामा रहेका पशुपन्छीमा समेत बर्डफ्लु संक्रमण देखिए पछि चिडियाखाना अहिले बन्द गरिएको छ

नेपालमा सन् २०१९ मा पहिलो पटक मानिसमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। विगतमा संक्रमणका कारण मृत्युका घटना समेत भएकाले उपत्यकावासीलाई सचेत रहन र सरकारी निकायले जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरू बताउछन्।