भोटो प्रदर्शनसँगै सकियो रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं: ललितपुरको जावलाखेलमा शनिबार रातो मच्छिन्द्रनाथ जात्राको समापनका रूपमा भोटो जात्रा सम्पन्न गरिएको छ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा परम्पराअनुसार भोटो प्रदर्शन गरिएको हो।

भोटो अवलोकनका लागि राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह तथा अन्य विशिष्ट व्यक्तित्वहरू उपस्थित भएका थिए।

मणिमाणिक्यले सजाइएको ऐतिहासिक भोटो हेर्न हजारौं सर्वसाधारण जावलाखेलमा भेला भएका थिए। गुठी संस्थानका प्रतिनिधिले सार्वजनिक रूपमा भोटो प्रदर्शन गरेका थिए।

कार्यक्रमका अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति तथा अन्य विशिष्ट अतिथिहरूले टीका र प्रसाद ग्रहण गरेका थिए।

भोटो प्रदर्शनसँगै उपत्यकाको सबैभन्दा लामो तथा प्रसिद्ध रथयात्रामध्ये एक मानिने रातो मच्छिन्द्रनाथ जात्रा औपचारिक रूपमा सम्पन्न भएको छ। त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखी बाजागाजासहित बुङमती लगिएको छ।

लोककथाअनुसार बहुमूल्य रत्नजडित भोटोको स्वामित्वलाई लिएर एक ज्यापु वैद्य र भूतबीच विवाद भएको थियो। उक्त विवादको वास्तविक हकदारलाई प्रमाणसहित दाबी गर्ने अवसर दिन सार्वजनिक रूपमा भोटो देखाउने परम्परा सुरु भएको जनविश्वास छ। हालसम्म कसैले स्वामित्व दाबी नगरेकाले भोटो मच्छिन्द्रनाथकै नाममा रहेको मान्यता रहिआएको छ।