आशा हराउँदै गएको राजनीतिमा रास्वपा विकल्प बनेको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपा नागरिकको परिवर्तनको चाहना र विद्रोहको लोकतान्त्रिक आवाज बनेको बताएका छन्।

पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले इमानदार नागरिकहरू राजनीतिप्रति निराश बन्दै गएको, नागरिक र राज्यबीचको विश्वास कमजोर भएको अवस्थामा रास्वपा परिवर्तनको आवाजका रूपमा उदाएको दाबी गरेका हुन्।

उनका अनुसार पार्टी अहिले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्न भेला भएको छ।
वाग्लेले विगतका आन्दोलनहरूले लोकतन्त्र, संविधान र समावेशीताको आधार निर्माण गरेको भन्दै ती उपलब्धिको सम्मान गर्नुपर्ने बताए।

साथै, अबको मुख्य चुनौती लोकतन्त्रको संस्थागत गुणस्तरलाई अझ उच्च बनाउनु रहेकोमा उनले जोड दिए।