काठमाडौं: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने मतदान प्रक्रिया प्राविधिक कारणले प्रभावित भएको छ।
उम्मेदवारहरूको ठूलो सङ्ख्या र विद्युतीय मतदान प्रणालीमा विवरण प्रविष्ट गर्ने कार्य समयमै सम्पन्न हुन नसक्दा मतदान निर्धारित तालिकाअनुसार सुरु हुन नसकेको हो।
पार्टीका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि करिब ३७० जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारहरूको अन्तिम नामावली तयार पार्ने, दाबी–विरोधका उजुरीमाथि निर्णय गर्ने तथा विद्युतीय मतदान मेसिनमा नामावली समावेश गर्ने कार्य जारी रहेकाले मतदान प्रक्रिया केही घण्टा पछि सरेको हो।
पार्टी नेता कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रियामा भएको ढिलाइबारे जानकारी दिँदै उम्मेदवारहरूको विवरण रुजु गर्ने तथा प्रविधिसम्बन्धी तयारी पूरा गर्न अझै समय आवश्यक रहेको बताए। उनका अनुसार केही उम्मेदवारको नाम दोहोरिएको पाइएकाले त्यसलाई सच्याउने काम भइरहेको छ। उम्मेदवारी सङ्ख्या अपेक्षाभन्दा धेरै भएपछि निर्वाचन व्यवस्थापनमा अतिरिक्त समय खर्चिनुपरेको उनले बताए।
महाधिवेशनमा मतदानका लागि ‘रामलक्ष्मण इनोभेसन’ कम्पनीका ८० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्। प्राविधिक टोलीका अनुसार करिब ४०० उम्मेदवारको विवरण मतदान प्रणालीमा प्रविष्ट गर्न झन्डै ६ घण्टा लाग्ने अनुमान गरिएको छ। निर्वाचन समितिले मतदान प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन विद्युतीय प्रणाली अपनाएको जनाएको छ।
निर्वाचन समितिका अनुसार एक प्रतिनिधिलाई मतदान गर्न करिब १० मिनेट लाग्ने अनुमान छ। मतदान सम्पन्न भएपछि दुई घण्टाभित्रै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
महाधिवेशनमा देशभरबाट आएका करिब ४१ सय प्रतिनिधि सहभागी छन्। प्रतिनिधि व्यवस्थापन, आवास तथा बन्दसत्र सञ्चालनमा देखिएको केही ढिलाइका कारण महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको बताइएको छ।
यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनको उद्घाटन लामिछाने र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन सत्रपछि प्रधानमन्त्री शाह काठमाडौं फर्किएका छन्। पार्टीभित्रको समझदारी अनुसार उनी वरिष्ठ नेताको भूमिकामा रहने लगभग निश्चित मानिएको छ।
प्रधानमन्त्री शाह निकट समूहका केही प्रभावशाली नेताहरूले भने केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छैनन्। उनीहरू चुनावी प्रतिस्पर्धाभन्दा पनि सभापतिको मनोनयनमार्फत केन्द्रीय समिति वा पदाधिकारी तहमा पुग्ने रणनीतिमा रहेको चर्चा महाधिवेशनस्थलमा चलिरहेको छ। बालेन समूहबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र पर्यटन मन्त्री गनेस पौडेलले उम्मेदवारी दर्ता नगरे पनि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल भने केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका छन्।
महाधिवेशनले पार्टीको नयाँ संगठनात्मक संरचनालाई पनि टुंगो लगाउनेछ। पार्टीले विधान संशोधन गरी पदाधिकारीको संख्या १२ बाट बढाएर १९ पुर्याएको छ। संशोधित व्यवस्थाअनुसार निर्वाचित ९९ केन्द्रीय सदस्यमध्येबाट दोस्रो चरणको निर्वाचनमार्फत दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री चयन गरिनेछ। बाँकी पदाधिकारी तथा केही केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ।
महाधिवेशनमा पदाधिकारी चयनलाई लिएर पनि विभिन्न नेताहरूबीच प्रतिस्पर्धा सुरु भइसकेको छ। महिला उपसभापति पदका लागि कानुन मन्त्री सोबिता गौतम, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल तथा कोषाध्यक्ष लिमा अधिकारीको नाम चर्चामा रहेको छ।
यस्तै, खुला महामन्त्री पदका लागि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपाने आकांक्षीका रूपमा देखिएका छन्।
त्यसैगरी, डा. तोसिमा कार्कीले पनि उपसभापति वा महामन्त्रीमध्ये कुनै एक पदमा दाबी प्रस्तुत गर्ने संकेत गरेकी छन्। महाधिवेशनको निर्वाचन परिणामले आगामी दिनमा पार्टीको नेतृत्व संरचना, शक्ति सन्तुलन र राजनीतिक दिशा निर्धारण गर्ने भएकाले प्रतिनिधिहरूको विशेष चासो देखिएको छ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहने प्रावधान रहेको छ। त्यसअनुसार केन्द्रीय समितिको कुल संख्या १५८ पुग्नेछ।


















