काठमाडौं: प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको एक तस्बिरलाई लिएर आफूविरुद्ध आधारहीन आरोप लगाइएको भन्दै आपत्ति जनाएकी छन्।
उनले उक्त घटनालाई आफ्नो चरित्रमाथिको प्रहारको रूपमा व्याख्या गरेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका थिए। तस्बिरमा सुरक्षाकर्मीले झोला बोकेको देखिएपछि उक्त झोला काफ्लेको भएको दाबी गर्दै आलोचना गरिएको थियो।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काफ्लेले सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभई सुरक्षाकर्मीकै निजी सामान भएको स्पष्ट पारेकी छन्। उनले तथ्य पुष्टि नगरी समाचार र टिप्पणीहरू सार्वजनिक गरिनु दुःखद भएको उल्लेख गरेकी छन्।
“सुरक्षाकर्मीले बोकेको ब्याग उहाँकै निजी हो,” उनले लेखेकी छन्- “तर त्यसलाई लिएर विभिन्न अड्कलबाजी गरियो र मेरो चरित्रमाथि प्रश्न उठाउने प्रयास भयो।”
काफ्लेले सञ्चारमाध्यमलाई समाचार प्रकाशन गर्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न आग्रह गरेकी छन्। तथ्यहीन सामग्रीले व्यक्तिको प्रतिष्ठामा असर पुर्याउने भएकाले जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको उनको भनाइ छ।
उनले आफूलाई विगतदेखि नै विभिन्न राजनीतिक व्यक्तित्वका पत्नीहरूसँग तुलना गर्दै अनावश्यक टिप्पणी गरिने गरेको उल्लेख गरेकी छन्। यसअघि यस्ता विषयमा प्रतिक्रिया नजनाए पनि पछिल्लो घटनाले बोल्न बाध्य बनाएको उनको भनाइ छ।
काफ्लेले नयाँ पुस्ताको नेतृत्व स्थापित हुँदै गए पनि महिलाप्रति गरिने टिप्पणी र सामाजिक दृष्टिकोणमा अपेक्षित परिवर्तन नआएको गुनासो व्यक्त गरेकी छन्।
कानुनी उपचारको बाटो खुला रहे पनि आफूले त्यसतर्फ नजाने संकेत गर्दै उनले सार्वजनिक रूपमा आफ्नो धारणा राख्न आवश्यक ठानेको बताएकी छन्।
साथै, साना देखिने विषयले पनि व्यक्तिको मानसम्मानमा गम्भीर असर पार्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यम दुवैले संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ छ।


















