जुम्ला: जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ।
सवारी नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायतका कसुरमा चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए।
कार्यालयका अनुसार सोही अवधिमा जिल्लाभर ६८ वटा सवारी दुर्घटना भएका छन्। यद्यपि ती दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ।
पछिल्लो समय बढ्दो सहरीकरणसँगै जुम्लामा सवारी साधनको चाप बढ्दै गएको ट्राफिक कार्यालयले जनाएको छ। सवारी साधनको संख्या बढेसँगै ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिँदै गएको कार्यालयको भनाइ छ।



















