वर्षाको प्रतीक्षामा किसान, खेतमा सुक्दै धान

कैलाली: लामो समयदेखि वर्षा नहुँदा कैलालीका विभिन्न स्थानमा रोपिएका धानका बिरुवा सुक्न थालेका छन्।

बोरिङको सहायताले रोपाइँ सम्पन्न गरेका किसानहरू पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका हुन्।

कैलालीका अधिकांश किसान बोरिङको भरमा धान रोप्ने गरे पनि धानको वृद्धि र संरक्षणका लागि आवश्यक सिँचाइ भने वर्षाको पानीमै निर्भर रहने गरेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा खेतमा चिरा पर्न थालेका छन् भने धानका बिरुवा पहेँलिनुका साथै सुक्न थालेका छन्।

धानखेतीमा मल, बीउ, रोपाइँ तथा मजदुरीमा ठूलो लगानी गरिसकेको भए पनि समयमै वर्षा नहुँदा त्यो लगानी जोखिममा परेको कैलालीका किसानहरु बताउँछन्। किसानहरूका अनुसार बोरिङमा समेत पर्याप्त पानी नआउँदा सिँचाइ गर्न समस्या भएको छ। डिजेल र बिजुलीको बढ्दो खर्चका कारण पटक–पटक सिँचाइ गर्न नसकिएको उनीहरूको गुनासो छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस वर्ष अधिकांश किसानले वैकल्पिक सिँचाइको भरमा रोपाइँ गरेका छन्। तर वर्षा नहुँदा धानका बिरुवा पहेँलिनुका साथै सुक्न थालेपछि उत्पादनमा असर पर्ने चिन्ता बढेको छ।