प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित

काठमाडौं: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक बहुमतले स्वीकृत गरेको हो।

विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राख्ने बताए। विगतमा देखिएको न्यून पूँजीगत खर्चको समस्या अन्त्य गर्दै विकास खर्च बढाउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

उनले बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत आन्तरिक राजस्वबाट नै व्यवस्थापन गरिने उल्लेख गर्दै राजस्व संकलनमा अपेक्षित उपलब्धि हासिल नभए आकस्मिक वित्तीय व्यवस्थामार्फत आवश्यकता पूर्ति गर्न सकिने बताए।

सरकारले ल्याएको बजेटले न्यून आय भएका नागरिकमाथि थप भार नपार्ने दाबी गर्दै उनले अर्थतन्त्र सुधार र आर्थिक गतिविधि विस्तारका लागि महत्वाकांक्षी कार्यक्रम समेटिएको बताए। आगामी वर्षदेखि त्यसको सकारात्मक प्रभाव देखिन थाल्ने उनको विश्वास छ।

मन्त्री वाग्लेले राइड सेयरिङ सेवाको कारोबार ठूलो परिमाणमा विस्तार भइसकेको भन्दै त्यस क्षेत्रलाई पनि करको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए। यसका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था निर्माण गरिने उनले बताए।

आर्थिक विधेयकमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमध्ये केही फिर्ता भएका छन् भने अधिकांश अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने स्वीकार गरिएका छन्।

संशोधनमाथिको प्रक्रिया टुंगिएपछि आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको हो।