काठमाडौं: मकवानपुरको हेटौंडामा आयोजित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री भएको छ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौंडा उपमहानगरपालिका को सहकार्यमा सम्पन्न महोत्सवबाट करिब २५ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाइएको हो।
हेटौंडा–११ स्थित प्रदेश कृषि थोक बजार परिसरमा सञ्चालन गरिएको महोत्सवमा स्थानीय तथा आसपासका क्षेत्रका उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो। कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन र स्वदेशी फलफूलप्रति उपभोक्ताको आकर्षण बढाउन सकारात्मक भूमिका खेलेको छ।
उनले नेपाली फलफूलका लागि बजारको अभाव नभएको बताउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उपभोक्ता सोच र बजार व्यवस्थापनमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे।
महोत्सवले किसानलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार उपलब्ध गराउनुका साथै उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न समेत सहयोग पुगेको आयोजकको भनाइ छ।



















