काठमाडौं: मेटाले फेसबुक र इन्स्टाग्रामजस्ता आफ्ना प्लेटफर्ममा हुने कन्टेन्ट तथा विज्ञापनहरूको समीक्षा प्रक्रियामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र बनाउने भएको छ।
कम्पनीले यस वर्षको अन्त्यसम्ममा अधिकांश समीक्षा कार्य ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) मार्फत गराउने तयारी गरेको जनाएको हो।
रिपोर्टहरूका अनुसार कम्पनीले हाल मानव मोडरेटरले गर्ने कामको ठूलो हिस्सा एआईलाई हस्तान्तरण गरिरहेको छ। मेटाको लक्ष्य सन् २०२६ को अन्त्यसम्ममा समीक्षा तथा निर्णयसम्बन्धी करिब ९० प्रतिशत काम एआईबाट गराउने रहेको बताइएको छ। यससँगै फेसबुक र इन्स्टाग्राममा प्रकाशित सामग्री तथा विज्ञापनबारेका अधिकांश निर्णय स्वचालित प्रणालीले गर्ने अवस्था बन्नेछ।
यहीबीच हालै इन्स्टाग्राममा देखिएको एक सुरक्षा कमजोरीले एआई प्रणालीप्रतिको चिन्ता पनि बढाएको छ। उक्त कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले हजारौँ अकाउन्टमा अनधिकृत पहुँच बनाएको जनाइएको थियो। उनीहरूले एआई सपोर्ट प्रणालीलाई झुक्याएर भेरिफिकेसन कोड अन्य इमेल ठेगानामा पठाउन लगाएका थिए।
मेटाले उक्त कमजोरी सच्याइसकेको दाबी गरे पनि घटनाले एआई प्रणालीका सुरक्षा चुनौतीलाई उजागर गरेको छ। विज्ञहरूका अनुसार प्रयोगकर्ताले विभिन्न शैलीमा प्रश्न सोध्न सक्ने भएकाले एआईलाई पूर्ण रूपमा सुरक्षित बनाउनु चुनौतीपूर्ण छ।
यद्यपि कम्पनी एआईमा आक्रामक रूपमा लगानी गरिरहेको छ। भविष्यमा अन्य कम्पनीलाई पनि एआई समाधान उपलब्ध गराएर कर्मचारी खर्च घटाउन सहयोग गर्ने लक्ष्यसहित मेटाले आफ्ना प्रणालीको व्यावसायिक उपयोगिता प्रमाणित गर्न खोजिरहेको छ। तर मानव श्रमको स्थानमा एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा र विश्वसनीयतासम्बन्धी प्रश्नहरू पनि थप गम्भीर बन्दै गएका छन्।



















