काठमाडौं: विश्वकप फुटबलका नकआउट चरणका केही खेल अत्यधिक गर्मी र आर्द्रताका कारण प्रभावित हुन सक्ने देखिएको छ।
संयुक्त राज्य अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा यस हप्ता तापक्रम उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएसँगै खेलाडीको स्वास्थ्य र खेल सञ्चालनबारे चिन्ता व्यक्त गरिएको हो।
राष्ट्रिय मौसम सेवाका अनुसार मध्य र पूर्वी अमेरिकाका साथै क्यानडाका धेरै क्षेत्रमा तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ। दक्षिणी ग्रेट प्लेन्स, मिसिसिपी उपत्यका र मध्य एटलान्टिक क्षेत्रका केही स्थानमा आर्द्रतासहित महसुस हुने तापक्रम ४६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
विश्व फुटबल खेलाडीहरूको संस्था फिफप्रोले यस्तो मौसमीय अवस्था खेलका लागि असुरक्षित हुन सक्ने जनाएको छ। प्रतियोगिताको अन्तिम ३२ चरणका केही खेल अहिलेसम्मकै सबैभन्दा कठिन मौसमीय परिस्थितिमा खेलिन सक्ने चेतावनी दिइएको छ।
यस हप्ताको सबैभन्दा बढी गर्मी टेक्सासका ह्युस्टन र अर्लिङ्टन क्षेत्रमा हुने अपेक्षा गरिएको छ। त्यहाँ हुने खेलमा खेलाडी र दर्शक दुवैले उच्च तापक्रमको असर महसुस गर्न सक्नेछन्।
न्यु जर्सीमा हुने फ्रान्स–स्वीडेन खेल, टोरन्टोमा हुने पोर्चुगल–क्रोएसिया खेल तथा मियामीमा हुने अर्जेन्टिना–केप भर्डे खेलका क्रममा पनि तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
विशेषगरी मियामी र क्यान्सस सिटीमा उच्च आर्द्रताका कारण गर्मीको प्रभाव अझ बढी हुने बताइएको छ। रातिको समयमा समेत तापक्रम उल्लेखनीय रूपमा नघट्ने भएकाले खेलाडीको शारीरिक पुनर्स्थापनामा चुनौती थपिन सक्नेछ।
सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै आयोजकले खेलका क्रममा हाइड्रेसन ब्रेकको व्यवस्था गरेको छ।
यसबाट खेलाडीहरूले पानी तथा इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ सेवन गर्न र शरीरको तापक्रम नियन्त्रणमा राख्न समय पाउनेछन्।
विशेषज्ञहरूले अत्यधिक गर्मी र आर्द्रताले खेलाडीको प्रदर्शन, सहनशक्ति र स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने बताएका छन्।


















