काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडादर पनि घट्ने भएको छ।
यातायात व्यवस्था विभागले नयाँ इन्धन मूल्यका आधारमा भाडादर समायोजन गर्ने तयारी गरेको गरिएको हो।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाएपछि विभागले भाडादर पुनरावलोकन प्रक्रिया अघि बढाएको हो। विभागका निर्देशक मणिराम भुसालले नयाँ भाडादर आजै साँझसम्म सार्वजनिक हुन सक्ने बताए।
इन्धनको मूल्यमा आएको परिवर्तनसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन हुनुपर्नेमा व्यवसायी र उपभोक्ता दुवै पक्ष सहमत देखिएका छन्। तर भाडा कति घटाउने भन्ने विषयमा भने फरक धारणा छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य घट्दा भाडा समायोजन हुनु स्वाभाविक भए पनि त्यसका लागि वैज्ञानिक आधार अपनाउनुपर्ने बताए। उनका अनुसार भाडा निर्धारण गर्दा इन्धनको मूल्यसँगै सवारी सञ्चालन, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्स तथा बैंकिङ लागतजस्ता पक्षलाई समेत ध्यान दिनुपर्छ।
हालको भाडा निर्धारण प्रणालीमा ३५ प्रतिशत भार इन्धनको मूल्यलाई र ६५ प्रतिशत भार अन्य सञ्चालन खर्चलाई दिइएको छ। व्यवसायीहरूले यही आधारमा भाडादर समायोजन गर्नुपर्ने तर्क गरेका छन्।
यता उपभोक्ता अधिकारकर्मीहरूले भने इन्धनको मूल्य बढ्दा जुन अनुपातमा भाडा बढाइएको थियो, मूल्य घट्दा पनि सोही अनुपातमा भाडा घटाउनुपर्ने माग गरेका छन्। उनीहरूले ‘वैज्ञानिक समायोजन’को नाममा उपभोक्तालाई मारमा पार्न नहुने बताएका छन्।
अन्तरप्रदेश भाडादर समायोजन भएपछि प्रदेश सरकारहरूले पनि स्थानीय तथा प्रदेशस्तरीय सार्वजनिक सवारीको भाडादर पुनर्निर्धारण गर्ने तयारी गरेका छन्।


















