काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन म्याद थप गरिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बुधबार पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। योसँगै उनीविरुद्ध तेस्रोपटक म्याद थप गरिएको छ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनलाई शंकास्पद सम्पत्तिको स्रोत तथा सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा प्राप्त विवरण, वित्तीय कारोबार र सम्पत्तिको स्रोतबारे थप प्रमाण संकलन गर्नुपर्ने भएकाले म्याद थप गरिएको स्रोतले जनाएको छ।
यसअघि पनि विशेष अदालतले दुईपटक म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। विभागले पौडेलसँग सम्बन्धित आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे विस्तृत अनुसन्धान गरिरहेको छ।


















