काठमाडौं: प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटपछि अडियो प्रणालीमा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो। बैठकका क्रममा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो सुनिएको थिएन।
अडियो नआएका कारण बैठकको अभिलेखीकरण (रेकर्ड) मा समेत समस्या उत्पन्न भएको भन्दै सभा स्थगित गरिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएलगत्तै बैठक पुनः सञ्चालन गरिने जानकारी दिइएको छ।
राष्ट्रिय सभामा आज प्रतिनिधिसभाबाट पारित भई आएका आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि प्रक्रिया अघि बढाउने कार्यसूची रहेको थियो।
त्यसैगरी, विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
आजकै बैठकमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि समेत समूहीकृत छलफल गर्ने कार्यसूची रहेको छ।


















