काठमाडौ: थाइल्याण्डको मुक्दहान प्रान्तमा ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक भिक्षुहरूको जुलुसमा ठोक्किँदा १० बौद्ध भिक्षुको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बालकले आफ्ना आमाबाबुको पिकअप ट्रक अनुमति बिना चलाएका थिए। बिरामी परेका कारण विद्यालय नगएका उनी घरमा एक्लै रहेका बेला गाडी लिएर निस्किएका थिए।
करिब १० किलोमिटर गाडी चलाइसकेपछि उनले नियन्त्रण गुमाउँदा सडकको छेउमा लाइनबद्ध रूपमा हिँडिरहेका भिक्षुहरूको जुलुसमा ट्रक जोतिएको थियो।
स्थानीय समयअनुसार बिहीबार बिहान करिब ११ बजे भएको दुर्घटनाको सिसिटिभी फुटेजमा पिकअप ट्रक तीव्र गतिमा भीडतर्फ प्रवेश गरेको देखिएको छ। मुक्दहानका गभर्नर भोरायन बन्नारतका अनुसार घटनाका बेला ३५ भिक्षु र पाँच जना भक्तजन मन्दिरतर्फ पैदल यात्रा गरिरहेका थिए।
दुर्घटनामा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप पाँच जनाले ज्यान गुमाएका हुन्। घाइते पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उपचाररत घाइतेका लागि स्थानीय अस्पतालले रक्तदान गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
परिवारले घरमा पिकअप ट्रक नभेटेपछि प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर प्राविधिक तथा फोरेन्सिक परीक्षणका लागि पठाएको जनाएको छ।
प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पारोज थैफुत्साले चालक बालक नाबालिग भएकाले र घटनापछि मानसिक रूपमा स्तब्ध अवस्थामा रहेकाले अहिलेसम्म कुनै मुद्दा दर्ता नगरिएको तथा औपचारिक बयान पनि नलिइएको बताएको छ।
एजेन्सीका अनुसार बालक हाल सोधपुछका लागि उपयुक्त अवस्थामा छैनन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार थाइल्याण्ड सडक दुर्घटनाको उच्च जोखिम भएका मुलुकमध्ये एक हो, जहाँ हरेक वर्ष करिब १८ हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गर्छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



















