काठमाडौं: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुक र जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी संसद्ले कानुन निर्माण गर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले कानुन निर्माण संसद्को मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै देशको आवश्यकता र जनताको अपेक्षाअनुसार कानुन बनाइने बताएका हुन्।
उनले चार दशकभन्दा बढी समयअघि चार जना विद्यार्थीबाट सुरु भएको विद्यालयले हासिल गरेको शैक्षिक तथा भौतिक पूर्वाधार विकासको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयले अझ बढी प्रगति गर्ने विश्वास व्यक्त गरे। काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसदसमेत रहेका अर्यालले विद्यालयको थप उन्नयनका लागि शुभकामना व्यक्त गरे।
यसैगरी, कार्यक्रममा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले विद्यालयको आगामी विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताइन्।
विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले विद्यालयले विगत चार दशकमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउन विद्यालय प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


















