काठमाडौं: ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैतडी घर भई हाल इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार उनलाई घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार भट्ट शिक्षा क्षेत्रसँग सम्बन्धित अधिकृतस्तरका सरकारी कर्मचारी हुन्।
आरोपितले एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेको आरोप छ। घटनापछि युवतीले ती व्यक्तिलाई पछ्याउँदै भिडियो खिचेकी थिइन्।
उक्त भिडियो आइतबार साँझ सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको थियो।
भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपितको खोजी सुरु गरेको थियो। भिडियो तथा प्राप्त सूचनाका आधारमा प्रहरीले भट्टलाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















