काठमाडौं: भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको सरकारी अधिकारीहरूले जनाएका छन्।
गत जुन २४ मा आएको भूकम्पमा परी हालसम्म कम्तीमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन्।
भेनेजुएलाका संसद् प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिएका हुन्।
उनका अनुसार हजारौँ व्यक्ति अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी छ। यद्यपि उद्धार टोलीहरूले भग्नावशेषमा जीवित व्यक्ति भेटिने सम्भावना अत्यन्त न्यून रहेको बताएका छन्। यसबीच आफ्ना आफन्तको शव फेला पारेर सम्मानपूर्वक अन्त्येष्टि गर्न सकियोस् भन्ने आशामा परिवारका सदस्यहरूले भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्।
पछिल्ला वर्षहरूमा भेनेजुएलाले विभिन्न प्राकृतिक विपद्को जोखिम सामना गरिरहेको छ। लामो समयदेखि जारी आर्थिक सङ्कटका कारण सरकारी सेवा तथा विपद् व्यवस्थापन क्षमता समेत प्रभावित भएको बताइएको छ।
यसैबीच संयुक्त राष्ट्र सङ्घले भूकम्पपीडितका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउन करिब ३० करोड अमेरिकी डलर बराबरको तत्काल सहयोगको अपिल गरेको छ।
यसैबीच, भेनेजुएलाका अधिकारीहरूले विदेशमा रोक्का (फ्रिज) गरिएका राष्ट्रिय सम्पत्ति फिर्ता गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्।



















