अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दुई सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं: देशभर भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले शनिबार दिउँसो २ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार मेची राजमार्ग र सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन स्थगित गरिएको छ।

प्रहरीका अनुसार कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।

गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका–९ फल्लेघरमा गएको पहिरोले सालझण्डी–ढोरपाटन सडकखण्ड पनि अवरुद्ध बनेको छ। बागमती प्रदेशको काभ्रेस्थित खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा बाढीको जोखिम बढेकाले पूर्वसावधानीस्वरूप बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।

यता, केही सडकमा भने आंशिक रूपमा यातायात पुनः सञ्चालनमा आएको छ। कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ पाउदीमा रहेको कालीगण्डकी करिडोर एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। भोजपुरमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

पहिरो हटाइएपछि केही राजमार्ग पूर्ण रूपमा सञ्चालनमा फर्किएका छन्। मकवानपुरको बकैया गाउँपालिका–११ घडेपाखा र भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो पन्छाइएपछि कान्ति लोकपथमा सवारी आवागमन सहज भएको छ।

त्यसैगरी, कर्णाली प्रदेशको कालिकोटस्थित शुभकालिका गाउँपालिका–१ गगने खोलामा खसेको पहिरो हटाइएपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।