झापा: झापामा विद्यालय जाने बालबालिकालाई फकाएर कानका मुन्द्रा लुट्दै हिँडेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पछिल्लो एक महिनायता कनकाई नगरपालिकाका विभिन्न स्थानमा एउटै शैलीमा बालबालिकाका सुनका मुन्द्रा हराउन थालेपछि प्रहरीले विशेष अनुसन्धान गरी आरोपितलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जी छन्। उनलाई कनकाई नगरपालिका–३ सुरुङ्गा क्षेत्रमा सार्वजनिक बसमा यात्रा गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार दर्जीले विद्यालय परिसर तथा विद्यालय आसपास रहेका बालबालिकासँग चिनजान गर्ने, विभिन्न बहानामा विश्वास जित्ने र त्यसपछि उनीहरूले लगाएका सुनका मुन्द्रा निकालेर फरार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसअघि कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठको दुवै कानका मुन्द्रा यसैगरी लुटिएको थियो। त्यसबाहेक स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी र कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालक पनि यस्तै घटनाको शिकार बनेका थिए।
प्रहरीका अनुसार पछिल्लो एक महिनामा कनकाई नगरपालिकाभित्र पाँच बालबालिकाका कानका मुन्द्रा एउटै तरिकाले लुटिएको घटना सार्वजनिक भएपछि अनुसन्धानलाई तीव्र बनाइएको थियो। घटनास्थल वरपरका सिसीटिभी फुटेज, पीडित बालबालिकाको बयान तथा अन्य प्रमाणको विश्लेषण गर्दा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
सोही आधारमा निगरानी बढाइएका क्रममा सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लुटिएका मुन्द्रा बिक्री–वितरणमा संलग्न रहेको आशंकामा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएको छ। उनीमाथि समेत आवश्यक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले अभिभावकलाई अपरिचित व्यक्तिको प्रलोभन वा बहकाउमा नपर्न बालबालिकालाई सचेत गराउन आग्रह गर्दै यस्ता शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।



















