प्रधानमन्त्रीले संसद्मा आएर अभिव्यक्ति सच्याउनुपर्छ : सांसद आरेन राई

काठमाडौं: श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्ट पार्दै आवश्यक परे सच्याउनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिएको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो। तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ,’ उनले भने।

राईले प्रधानमन्त्री शाह मेयर हुँदा सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको र पछि सिंहदरबारमा आगलागी भएको प्रसंग उल्लेख गर्दै सीमा सम्बन्धी पछिल्लो अभिव्यक्तिप्रति पनि सरकार गम्भीर हुनुपर्ने बताए। ‘सीमाका विषयमा पनि त्यस्तै हुने त होइन भन्ने चिन्ता छ,’ उनले भने।

उनले सरकारले पठाओ राइडर, सुकुम्बासी, श्रमिक नागरिक तथा साना उद्यमीमाथि अनावश्यक दबाब सिर्जना गरिरहेको आरोप लगाए। गरिब र श्रमिक वर्गलाई संरक्षण गर्नुको सट्टा सरकारले उनीहरूमाथि नै कडाइ गरिरहेको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।

राईले करार तथा ज्यालादारीमा लामो समयदेखि न्यून सुविधा र पारिश्रमिकमा काम गरिरहेका कर्मचारीलाई ठेकेदारमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए। उनले श्रमिकको रोजगारी, सेवा–सुविधा र अधिकार सुरक्षित हुने गरी नीति अवलम्बन गर्न सरकारसँग माग गरे।